सामाजिक सद्भाव कतैबाट पनि नभड्कियोस् ःमन्त्री राई

काठमाडौँ  १७ माघ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मुलुकलाई विभाजित गर्ने, सामाजिक सद्भाव भड्काउने र एकअर्कालाई जुधाउने प्रयास कहीँ कतैबाट पनि नहोस् भन्नेमा जोड दिएका छन् ।
कवि तथा पत्रकार यशोदा अधिकारीको कविताकृति ‘अस्वीकार’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले विगतको गन्थनमा मात्र नलागी नयाँ सोच, उत्साह र इच्छाशक्ति लिएर संविधान कार्यान्वयन गर्दै मुलुकलाई समृद्धि र विकासको पथमा लैजान सबैलाई आग्रह गरेका छन् ।

‘हामी सार्वभौमसत्ता र अखण्डता कायम राखेर मुलुकलाई निकास दिन चाहन्छौँ । जटिल अवस्थामा पनि भूगोलको एक इन्च पनि तलबितल नभई राष्ट्रिय एकताको झन्डालाई झुक्न दिँदैनौँ’उनले भने–‘राष्ट्रिय हित र समृद्धिलाई केन्द्रमा राखेर नयाँ आधारमा छिमेकीसँगको सम्बन्ध विस्तार गर्न वर्तमान सरकार लागिपरेको छ ।’

राज्यले साहित्य एवम् कला क्षेत्रलाई उचित सम्मान दिन नसकेको भन्दै वर्तमान सरकारले यस क्षेत्रलाई राष्ट्रिय उद्देश्यसँग जोडेर अगाडि बढाउन चाहेको बताए । कस्तो देश निर्माण गर्ने भावना समेटिएको सिर्जना स्रष्टाहरुबाट आउनुपर्ने उल्लेख गर्दै उहाँले सिर्जनाले भविष्यलाई स्पष्ट दिशानिर्देशन गर्न सक्नुपर्नेमा जोड दिए ।
मन्त्री राईले नयाँ सोच, योजना, इच्छाशक्ति र प्रतिबद्धतासहित देश निर्माण र आर्थिक समृद्धिको योजना बनाएर नीति निर्माण तहमा लाग्न एवम् राष्ट्र निर्माणमा लाग्न आग्रह गरे ।

मुलुकमा अब कुनै अन्योल तथा अस्पष्टता नभएको भन्दै उहाँले सबै मिलेर राष्ट्र निर्माणमा लाग्न र नयाँ संविधानलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने स्पष्ट पारे । ‘समाजले महिलालाई दोस्रो दर्जाको नागरिकका रुपमा हेर्ने गरेको भए पनि पछिल्ला दिनमा भएका राजनीतिक परिवर्तनले त्यसलाई खारेज गरिदिएको छ’उनले भने ।
कवितासङ्ग्रहमा नेपाली राजनीति, राजनीतिकर्मीको सुझबुझ र अवस्था तथा मुलुकको समग्र चित्रणका साथै महिलाको पीडा र भोगाइ एवम् यथार्थको चित्रण गर्दै समग्र महिला वर्गलाई समान हैसियतका साथ अगाडि बढ्न सन्देश दिएको उनले उल्लेख गरे ।

सो अवसरमा एकीकृत नेकपा (माओवादी)का प्रवक्ता एवम् लेखक दीनानाथ शर्माले कृतिले सामाजिक अन्याय, विकृति विसङ्गति एवम् महिलाप्रति गरिने विभेदको चित्रण गरेको उल्लेख गरे  ।
कृतिको समीक्षा गर्दै कवि देवी नेपालले आन्तरिक सङ्गीत चेतनायुक्त कविताको राम्रो उदाहरण ‘अस्वीकार’ रहेको उल्लेख गर्दै कृति सकारात्मक चिन्तन र सामाजिक कूरीतिविरुद्धको राम्रो उदाहरण रहेको बताए ।
नारी चेतना, जागरण एवम् कलमजीवीको नियति, काठमाडौँ उपत्यकामा डेरामा बस्नेहरुको दैनिक जीवनलाई कवितासङ्ग्रहले समेटेको छ भन्दै कवि नेपालले गाउँहरु रित्तिँदै गएकोप्रति समेत कवितासङ्ग्रहले उद्घाटित गरेको उल्लेख गरे ।

सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा जीवेन्द्रदेव गिरी, सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला झा, साझा प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा र साहित्यकार हरिमाया भेटवालले कृतिले नेपाली समाजमा जनचेतना जगाउने विश्वास व्यक्त गरे ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice