थप नेपाल–भारत सम्बन्ध विस्तार गर्न कार्यदल

काठमाडौ १४ माघ । नेपाल–भारत सम्बन्धलाई थप विस्तार गर्न सरकारले विशिष्ट व्यक्तिको समूहको कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले  चार जना विशिष्ट व्यक्ति सम्मिलित  कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

समूहमा कुटनीतिज्ञ डा भेषबहादुर थापा, कानूनविद् सूर्यनाथ उपाध्याय, नागरिक समाजका अगुवा निलाम्बर आचार्य र सांसद डा. राजन भट्टराई रहेका छन् । डा थापा पूर्व परराष्ट्रमन्त्री एवम् भारतका लागि पूर्व राजदूत हुन् भने उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त रहिसकेका पूर्व सचिव हुन् ।

नागरिक समाजका तर्फबाट आचार्य र व्यवस्थापिका–संसद् सदस्यबाट डा भट्टराई छानिएका हुन् ।  नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरिय संयुक्त आयोगको २०७१ साल साउनमा काठमाडौँमा सम्पन्न तेस्रो बैठकमा भएको सहमतिअनुसार दुई देशको सम्बन्धको समग्र पक्षलाई विचारविमर्श गरी अघि बढ्ने सिलसिलामा सरकारले नेपालको तर्फबाट उक्त समूह गठन गरेको हो । समितिको कार्यकाल दुई वर्षको हुने छ ।

कानुन आयोगमा शर्मा
सरकारले नेपाल कानुन सुधार आयोगको उपाध्यक्षमा भेषराज शर्मालाई नियुक्त गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव शर्माले दिनुभएको राजीनामालाई स्वीकृत गर्दै उनलाई उपाध्यक्षको जिम्मेवारी दिइएको हो ।

दुई सचिवको सरुवा
नेपाल सरकारले दुई जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बुधबार साँंझ बसेको बैठकले पर्यटन मन्त्रालयका सचिव दिनेश थपलियालाई सूचना तथा सञ्चार मन्त्रालयमा र मन्त्रिपरिषद् कार्यालयका सचिव प्रेमकुमार राईलाई पर्यटन मन्त्रालयमा सरुवा गरेको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice