आक्रामक रुपमा जनपरिषद गठन गर्दै विप्लव माओवादी– पछिल्लो समय बागलुङमा गठन

बागलुङ, १३ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी, बागलुङले जिल्ला जनपरिषद् गठन गरेको छ। बाबुलाल शाक्य प्रमुख रहेको जिल्ला जनपरिषद् ११ सदस्यीय छ । यसैसाता बुर्तिवाङमा भएको भेलाबाट २७ सदस्यीय जिल्ला जनप्रतिनिधिसभा समेत गठन गरिएको नेकपा माओवादीले जनाएको छ। क्रमिकरुपमा गाउँ र नगरमा समेत परिषद् गठन गर्दैजाने प्रमुख शाक्यले बताए। जिल्लाको राजकुत, देविस्थान र खुङ्गा गाविसमा गाउँस्तरको जनपरिषद् गठन भइसकेको उनको भनाइ छ। जिल्ला जनपरिषद्मा नन्दराम थापा, दिलबहादुर कुमाल, सुमित घर्ती, निशान विक, राधिका आचार्य, जीवन धराली, गोविन्द कार्की र लालबहादुर कुँवर सदस्य रहेका छन् । एकजना महिला उपप्रमुख पछि मनोनित गरिने प्रमुख शाक्यले जानकारी दिए । परिषद्ले स्थानीयस्तरमा जनचाहनाअनुसारका गतिविधि गर्दै जाने प्रमुख शाक्यले बताए। भ्रष्टाचार, महँगीजस्ता जनविरोधी कार्य रोक्न हस्तक्षेप र कारबाही अघि बढाउने उनले बताए। “नाकाबन्दीको मौका छोपेर कृत्रिम महँगी सिर्जना गर्ने र अकूत सम्पत्ति कमाउने कालो बजारीयालाई सार्वजनिक गरी कारबाहीको दायरामा ल्याउँछौँ”– प्रमुख शाक्यले भने। उनले देशमा मौलाएको भ्रष्टाचारलाई निरुत्साहित गर्न विशेष अभियान थालिने बताए। नेकपा माओवादीले उत्पीडनमा पारिएका सबै वर्ग, जाति र समुदायले गरेका न्यायिक आन्दोलनलाई समर्थन गर्नेसमेत जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice