बाबुराम ‘वल्लो घाट न पल्लो तिर’

मनोज खतिवडा
काठमाडौं, १६ भदौ । पार्टी र संसदको सदस्य दुवै त्यागेर जिम्मेवारी विहिन बनेका पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ‘वल्लो घाट न पल्लो तिर’को अवस्थामा पुगेका छन् ।
एमाओवादी छोडेपछि शनिवारदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता प्रशिक्षण भेला, दुई दिनअघि देखि सुरु भएको ब्यवस्थापिका संसदमा उनको उपस्थिति भएन । तर जनु जनताले मत दिएर सांसद बनाएका हुन् भट्टराई अहिले उनीहरुकै दैलोमा पुगेका छन् ।
राष्ट्र विखण्डनको अभिव्यक्ति पछाडी चौतर्फी आलोचनाको शिकार बनेका भट्टराई  चर्चामा आइरहने नेता हुन् । तर संविधान निर्माण प्रकिृयामा उनले खेलेको ‘शंकास्पद’ भुमिकापछि उनको लोकप्रियता र राजनितिक साख दुवै जोखिममा परेको छ ।
भारतीय अघोषित नाकाबन्दीपछि देश संकटमा छ । तर देशले आश गरेका नेता भट्टराई भने गोर्खाको गाउँमा भौतारिरहेका छन् । उल्टो उनीमाथी भारतीय खुफिया एजेन्सी ‘र’ को प्रभावमा परेर राजीनामा दिएको आरोप लागिरहेको छ ।
बाबुराम नेपाली राजनीतिमा मात्र नभई सामाजिक सञ्जालमा पनि निकै लोकप्रिय नेता थिए । उनले पार्टी र संसदबाट राजीनामा दिएलगतै हजारौ फेसबुक फ्लोस्ले अनफलो गरेका छन् । राजीनामापछि घटेर १० लाख ८ हजारमा झरेको छ । उनलाई मन पराउने हजारौ नागरिकले एकैपटक उनलाई अनलाइक गर्न थालेका छन् ।
राजीनामा दिएपछि उनले मधेसी मोर्चासँग साइनो जोड्न थालेका थिए । तर मधेसी मोर्चाले उनलाई पत्याएनन् । मधेसी मोर्चाका नेता राजेन्द्र महतोले ठाडै मोर्चामा सहभागि गराउन नसक्ने जानकारी टेलिफोनबाट दिएका थिए । तरपनि उनी जनकपुर पुगे तर कार्यक्रम स्थलबाट भागेर राजधानी फर्के ।
नेपालीहरुले ‘बौद्धिक’ र ‘भिजनरी’ नेताको रुपमा बाबुरामको प्रशंसा र समर्थन गर्दै आएका थिए तर यसपटक उनले खुल्लमखुल्ला भारतको पक्षपोषण गरेपछि उनको ब्यक्तित्व निकै खस्केको छ । एमाओवादीभित्र उनी निकट मानिने नेताहरु नै अहिले विपक्षमा उभिएका छन् । सधै भट्टराईको पक्षमा वकालत गर्ने नेताहरु अहिले उनीबिरुद्ध आक्रामक अभिब्यक्ति दिन थालेका छन् । शनिवार कपनमा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा यस्तै भयो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice