कति भित्राउँछन कर्नेल सावले केटी !

काठमाडौ । राज्यको बर्दी लगाएर देशको रक्षा गर्नुपर्ने सैन्य अधिकारीले ठाउँठाउँमा युवती बटुल्दै तमासा देखाएपछि कुन हविगत होला ? सानातिना पनि हैनन्, नेपाली सेनाका फुल कर्णेलले अनुहार परेकी युवती देख्नासाथ बिहे गरिदिँदा अहिले काठमाडौं जिल्ला अदालतमा रमिता चलेको छ । उमेरले ४३ नाघेका यी कर्णेल कामपा– ५, घर नं. १३२, टंगालका महेशमशेर जबरा (हाल खरिपाटीमा कार्यरत) हुन्, जसलाई अहिले दुई–दुईवटी महिलाले पति दावी गर्दै अदालतमा मुद्दा हालेका छन् । घरी एउटीलाई सकारेको कागज गर्छन्, घरी अर्कीलाई । एउटीसँग मिल्दा अर्कीले अर्कै मुद्दा हालिदिने, अनि अर्कीसँग मिल्दा फेरि अर्की जागेर अदालत पुग्नाले जिल्ला अदालत नै सिनेमाको सुटिङस्थलझैँ बन्न पुगेको छ । पर्शुरामसमशेरका छोरा यी कर्णेलचाहिँ रमा शाह नामक महिलाका खास पति हुन् । घरकी पत्नी उनको यस्तो चालाबाट हैरान भई ०५९ सालमै अलग्गिएकी छन् । पत्नीले त छाडेर अमेरिका गइन्, जोगाउन खोज्ने अर्का कर्णेल साथी अहिले उल्टै फँसेका छन्, अदालतमा झूठो बकपत्र गर्नाले ।
नाचगानको पेशा गर्ने हेटौंडा– १ की १९ वर्षीया नम्रता स्याङताङ एउटा त्यस्तै कार्यक्रम देखाउन धरान गएकी थिइन्, ०७० सालको साउन महिनामा । इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरअन्तर्गत नम्बर एक राजदल गणमा कार्यरत थिए, कर्णेल महेशमशेर । ‘राम्री केटी आएका छन्’ भन्ने सुन्नासाथ नाचगान हेर्न धरान हान्निएका उनले त्यहाँ पुगेर मोबाइल नम्बर साटासाट गरे । रङ्गमञ्चमा मात्र हैन, बाहिरी हेराईमा पनि नम्रता हिस्सी परेकी युवती । यस्तो देखेपछि कर्णेलको मन थामिएन । विहान उठेदेखि राति नसुतुञ्जेल नम्रतासँगै फोन गरेर समय काट्ने स्थितिमा पुगे । गरिबकी छोरी, नाचगान गरेर गुजारा चलाउनेलाई सेनाको कर्णेल, त्यो पनि फुल कर्णेल भएपछि के चाहियो र ? नम्रताका बुबा पहिल्यै बितेको । हेटौंडाको घरमा आमा एक्लै । कर्णेल नम्रतालाई भेट्न त्यता पनि पुगे । गरिबी देखेर सहानुभूति प्रकट गरे । साउनबाट शुरु भएको पिरती ‘अरुबेला अन्त, चैतमा जन्त’ भनेजस्तो चैतमै पुगेर प्रणयमा परिणत भयो । धरानको दन्तकाली मन्दिरमा सिन्दुर पोते गरी कर्णेलले नम्रतालाई साथमै राखे, इटहरी व्यारेकमा ।  यसपछि कहिले भेडेटार, कहिले पाख्रिबास त कहिले इलामका चियाबगानतिर घुम्न गए । आखिरमा रङ्गमञ्चबाट उठाइएकी युवतीबाट बुझाउनुसम्म ‘प्यास’ बुझाएर ९ महिनापछि नम्रतालाई भने, ‘तिमीजस्तो अनपढ केटीलाई स्वास्नी बनाएर राख्न सक्दिनँ । आफ्नो बाटो लाग ।’ बर्दी र हतियारको आडमा कसैकी छोरी हत्याएको र त्यही दुई अस्त्र प्रयोग गरी लखेटिएकी युवतीसँग के नै उपाय थियो र, ‘निक्लेर जाऊ’ भन्नासाथ बसिरहने साहस भएन । बरु, हेटौंडातिरका वकिलसँग सोधिन्, उपाय । मुलुकी ऐनको अदालती बन्दोबस्ती ८२ नं. अनुसार लोग्नेस्वास्नीको महल ५ क र ६ नं. का आधारमा फिराद लेखाइन् । ०७१ पुस १७ गतेको फिरादमाथि कर्णेल महेशसमशेरले २२ गते प्रतिउत्तर लेखे । आखिर चरन फेर्न पल्किएको बाख्रा एउटै चरनमा किन रम्थ्यो र ? २२ गते प्रतिउत्तर लेख्ने कर्णेलले त्यही दिन, त्यही जिल्ला अदालतमा अर्की महिलासँग मिलापत्र गरे । अर्थात्, उनी रहेछन्, डबल रोलका हिरो । जतिबेला नम्रतासँग प्रेम, विवाह र घुमफिर चल्दै थियो, अर्कातिर अर्की युवतीसँग पनि त्यस्तै चल्दै रहेछ । जब नम्रता पाए, तब पहिलाकीलाई बेवास्ता गरेका रहेछन् । र, पहिलाकीले काठमाडौंकै जिल्ला अदालतमा नाता कायम मुद्दा हालेकी रहिछन् । नम्रताले त्यही मुद्दा हालेपछि इन्कारी प्रतिउत्तर हालेका उनले त्यही मितिमा पुरानी प्यारीलाई मिलापत्रमार्फत नाता कायम गराइदिए । कुरा यस्तो रहेछ– पूर्वी पृतनामै रहँदा इटहरी जेसिजका जीवन पराजुलीले आफ्नी साली भन्दै भोजपुर जिल्ला, भोजपुर गाविस– १ स्थायी ठेगाना भएकी २४ वर्षीया इम्तिया राईसँग कर्णेलको सम्बन्ध बनाइदिएका थिए । इम्तिया पनि पेशाले नम्रताजस्तै कलाकार हुन् । अनुहार हिस्सी परेकी युवती भए पुग्ने यी कर्णेल आफू त डुबेडुबे अर्का कर्णेललाई पनि घानमा पारेका छन् । अदालतमा मुद्दा परेपछि साक्षी बकपत्र हुन्छ । अर्का कर्णेल राधाकृष्ण थापाले साथीको लहलहैमा लागेर नम्रतासँगको सम्बन्ध अस्वीकार गर्दै बकपत्र गरेका छन् । तर, नम्रतालाई महेशसमशेरले घुमाउन लैजाँदा दुई जनाको बीचमा उभिएको फोटो अदालतमा प्रमाणस्वरुप पेश भएको छ । अर्थात्, उनीहरुको सम्बन्धको साक्षी कर्णेल राधाकृष्ण नै हुन्, तर अदालतसँग झुठो बोले, ‘होइन’ भनेर । राष्ट्रसेवक कर्णेल राधाकृष्ण अहिले अर्को मुद्दाको फन्दामा परेका छन्, झुठो बकपत्रसम्बन्धी । त्यस मुद्दामा जरिवानादेखि सेवा बर्खास्तीसम्मको सजायँ छ । यस्ता हाकिम नै शिक्षालयको हाकिम भएपछि सैनिकहरुले कस्तो तालिम पाउलान् ! जनअस्थाबाट

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice