‘मर्न तयार भएरै जोगाएँ भाइ र बैनीलाई’

चार जना बच्चाहरुलाई घरमा छोडेर कालिका गाविस ९, सिन्धुपाल्चोककी सम्झना पहरी घाँस काट्न गएकी थिइन् । बैशाख १२ गतेको महाभुकम्प आएको उनले चालै पाइनन् । आफूसँगै घाँस काटिरहेकी माइली देउरानी अञ्जु पहरीले ‘भुईचालो आयो’ भनेर चिच्याए मात्रै उनले पत्तो पाइन् । हत्तपत्त रुख समातेर बसिन् ।
आफु त जोगिइन्, तर घरमा रहेको छोराछोरीहरु के भयो भनेर उनको मन आत्तियो । श्रीमान् पनि गाँउको मिलमा काम गर्थे, घरमा थिएनन् । भुईचालो रोकिनसक्दै हस्याङ्फस्याङ घरतिर दौडिइन् । घर भत्किइसकेको थियो । एकछिन त सम्झनाको होसहवास उड्यो । घरभित्र भएको अन्न, कुखुरा सबै पुरिएछ । घरमा दुई छोरा र दुई छोरी छोडेर गएकी थिइन् । धन्न, भत्किएको घरबाहिर तीन जना बच्चाहरु देखिए । उनको मन केही शान्त भयो। तर, एक जना छोरा भने अझै देखिएन । अत्तालिएर उनले घरको भग्नवशेषमा खोज्ने प्रयत्न गरिन, सम्भवनै भएन ।
‘घरमा बच्चाहरु थिए, घरले पुरिसक्यो होला भनेर रुदै दौडिएर आए । घर त भत्किसकेको थियो’–सम्झनाले महाभुकम्पलाई स्मरण गर्दै भनिन्–‘अन्न, कुखुरा सबै पुरिएको थियो, तीन जना बच्चा देखे, मन केही शान्त भयो । एउटा छोरा मात्रै थिएन ।’ घाँस काट्न जानुअघि उनले ७ बर्षीय ठुली छोरी सुजिता, ६ बर्षका सुजन, ४ बर्षका सुदिप र एक बर्षकी सुनिता पहरीलाई छोडेर गएकी थिइन् । ती मध्ये ४ बर्षीय सुदिप मात्रै थिएनन् । ठुली छोरी सुजिताले चलाखी नगरेको भए चारैजना घरले पुरिने थिए । धन्न, सुजिताले ६ बर्षका सुजन र एक बर्षका सुनितालाई साथमा लिएर हतपत घरबाट बाहिरिएछन् । ‘सुदिपलाई पनि तान्न खोजिछ, तर मानेनछ । उसलाई घर भत्किएर पुरेछ’–आमा सम्झनाले ठुली छोरीलाई देखाउदै भनिन्–‘यसले त्यति नगरिदिएको भए सबै स्वाहा हुनेथियो।’
कालिका गाविसमा ९ जनाको मृत्यु भएको थियो । ती मध्ये वडा ९ मा एक जना बालकको मात्रै मृत्यु भएको थियो । ती अभागी तिनै सम्झना पहरीका ४ बर्षीय छोरा सुदिप थिए । भुइचालोले जमिन हल्लिन थालेपछि दिदीले तान्न खोज्दा मानिदिएको भए उनी पनि जोगिने थिए । दिदी सुजिताका अनुसार भुईचालो आउनुअघि उनीहरु चारै जना घरमा गुन्द्री ओछ्याएर खेल्दै थिए । जमिन हल्लिन थाल्यो, घरको माटो खस्न थाल्यो । अत्तालिएर सुजिताले एक बर्षीय बहिनी बोकिन । अर्को ६ बर्षीय सुजनलाई हातले समातेर तानिन् । चार बर्षीय सुदिपलाई पनि आइज भन्दै बोलाइन्, तर उसले दिदीले के भनेको भेउ नै पाएनन् । घर गर्लम्म लडिहाल्यो । ‘सानो बहिनी र भाईलाई बाहिर ल्याए, सुदिपलाई पनि यता आइज भने, मानेन । घर लडिहाल्यो’–उनले भनिन् ।

पहरी जाति त्यसै पनि अति पिछडिएको र गरिब छन् । त्यसमाथि सम्झनाको परिवारको सम्पत्तिको नाममा केही छैन । उनीहरु अर्काको बारी कमाएर बसेका थिए । साहुले बस्न दिएको घर पनि भुकम्पले भत्काइदियो । बोरा, जस्ता र पाल ओढेर बसेका छन् । ‘हाम्रो त केही छैन, अब कसरी बाच्ने रु कतैबाट सहयोग पाए हुन्थ्यो’–सम्झनाले भनिन्।

One thought on “‘मर्न तयार भएरै जोगाएँ भाइ र बैनीलाई’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice