९५ प्रतिशत घर, ९० प्रतिशत सरकारी कार्यालय, ९९ प्रतिशत शैशिकसंस्था र शतप्रतिशत स्वस्थ्यसंस्था ध्वस्त

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा कुनै एउटा त्यस्तो गाउँ छैन, जहाँको ९५ प्रतिशत घर ध्वस्त नभएको होस्, जुन गाउँमा भूकम्पकाकारण मानिसको मृत्यु नभएको होस् । हर गाउँ खण्डहर छ, शोकमा डुबेको छ ।
वैसाख १२ गतेको विनाशकारी भूकम्पका कारण पूरै सिन्धुपाल्चोक नै क्षतविक्षत छ । गोरखाको बारपाक केन्द्र भएर आएको भूकम्पकाकारण सिन्धुपाल्चोकमा सबैभन्दा धेरै जनधनको क्षती भयो । १२ गतेको भूकम्पको केन्द्र गोरखा भए पनि त्यसपछि अधिकांश भूकम्प र पराकम्पनहरुको केन्द्र सिन्धुपाल्चोक परेका कारण पनि यहाँ धेरै जनधनको क्षती भएको हो ।
सरकारको पछिल्लो तथ्याङ्कअनुसार सिन्धुपाल्चोकमा भूकम्पका कारण ३ हजार १ सय ७ जनाको मृत्यु भएको छ र ८ सय ६० जना घाइते छन् । तर, यो तथ्यांकभन्दा धेरै बढीको क्षति भएको स्वभाविक अनुमान जिल्लास्थित नेताहरुले गरेका छन् ।
सिन्धुपाल्चोकका ९५ प्रतिशत घर वस्न नमिल्ने गरी ध्वस्त भएको छ । यहाँको ६३ हजार ८ सय ८८ घर पूर्णरुपमा क्षती भएको सरकारी तथ्याङ्क छ । धेरै नै भौतिक संरचना नष्ट भएको छ । तर, कति मूल्य बराबरको भौतिक संरचना नष्ट भयो भन्ने यकिन तथ्याङ्क छैन ।
प्रशासनिक कार्यालयस्थिति
भूकम्पका कारण सिन्धुपाल्चोकका अधिकांश सरकारी कार्यालयको भवन ध्वस्त छ । सरकारी कार्यालयका भवन क्षतिग्रस्त भएपछि अहिले पालमुनिबाट सेवा दिन थालिएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, वन, भूसंरक्षण, खानेपानी, कारागार, हुलाकलगायत प्रशासनिक केन्द्रका अत्यावश्यक कार्यालयका भवन ध्वस्त छ । भूकम्पको असरबाट जिल्ला शिक्षा कार्यालय, मालपोत कार्यालय र नापी कार्यालय जोगिएको छ ।
सदरमुकामस्थित प्रशासनिक कार्यालयको भवन मात्रै होइनन्, जिल्लाभरका ९० प्रतिशतभन्दा बढी सरकारी कार्यालयको भवन कामै नलाग्ने गरी भत्किएको छ । जिल्लाका प्रायः सबै गाविस कार्यालयको भवन ढलेको छ ।
शैक्षिक संस्था स्थिति
भूकम्पले सिन्धुपाल्चोकका ९० प्रतिशतभन्दा बढी शैक्षिक संस्था ध्वस्त बनाएको छ । जिल्ला शिक्षा कार्यालयले संकलन गरेको तथ्यांकअनुसार मंगलबारसम्म ९० प्रतिशत सार्वजनिक विद्यालय भवन ध्वस्त छ । जिल्लामा ५ सय ५७ सार्वजनिक शैक्षिक संस्था रहेकामा ३ सय ८३ विद्यालय पूर्णरुपमा ध्वस्त छ । १ सय ७४ विद्यालयको अधिकांश हिस्सा क्षतिग्रस्त छ । यहाँका पूर्वबालविकास केन्द्रदेखि उच्च माविसम्म ८७ हजार ९ सय ४७ विद्यार्थी अध्ययनरत थिए । सरकारले आगामी जेठ ३ गतेबाट शैक्षिक संस्था सञ्चालन गर्न सूचना जारी गरे पनि विद्यालय भवन नै नरहेपछि झण्डै ८८ हजार विद्यार्थी पढाइ अन्योलमा परेको छ । शिक्षा कार्यालयले हाल अस्थाई सिकाइ केन्द्र बनाउँने र केही समयपछि मात्रै नियमति अध्यापन सुरु हुने वताएको छ । र भूकम्पका कारण सिन्धुपाल्चोकमा १६ जना शिक्षकको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकका प्राय सबै स्वास्थ्य संस्थामा भूकम्पले क्षति पु¥याएको छ । चौतारास्थित जिल्ला अस्पताललाई समेत भूकम्पले क्षती पु¥याएपछि यसरी टुडिखेलमा पाल टाँगेर अस्पताल संचालन गरिएको छ ।
त्यस्तै सिन्धुपाल्चोकमा संचालित जलविद्युत आयोजनालाई पनि भूकम्पले क्षती पु¥याएको छ । ३६ मेगावाट क्षमताको माथिल्लो भोटेकोशीलाई भूकम्पले सबैभन्दा बढी असर गरेको छ ।
भूकम्पका कारण पहिरो खस्दा जिल्लाका सडकको अवस्था विग्रिएको छ । बाह्रविसे– तातोपानी सडक खण्डमा खसेको पहिरो र ठूलाठूला चट्टानका कारण सडक अवरुद्ध छ । सडक सञ्चालन गर्ने प्रयास जारी छ । यो खण्डमा गुडिरहेका सवारीसाधनमाथि चट्टान खस्दा धेरैको मृत्यु भएको छ ।
भूकम्पले क्षतविक्षत बनाएको सिन्धुपाल्चोकका नागरिक अहिले चरम पीडामा चट्पटाईरहेका छन् । आफन्त अनि घर गुमाएका उनीहरु अहिले बारिको पाटोमा अनिदों रात विताइरहेका छन् । र, यहाँका पीडित नागरिकलाई सरकारी र गैरसरकारी विभिन्न संघसंस्थाबाट राहत उपलब्ध भइरहेको छ । तर, त्यो पर्यात नभएको र प्राप्त राहत न्यायोचित ढंगमा वितरण नभएकोमा सिन्धुवासीले गुनासो गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice