भीभीआईपीको सवारीमै बित्छ प्रहरीको समय

काठमाडौं, । अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको प्रहरी पछिल्लो समय अतिविशिष्ट व्यक्तिको सवारी र कार्यक्रमस्थलको सुरक्षामा केन्द्रित भएको छ । धर्ना, जुलुस र विरोध कार्यक्रममा पनि प्रहरीको अधिकांश समय बित्ने गरेको छ । काठमाडौं प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमकुमार कार्कीले २ हजार ५ सय दरबन्दी रहेको काठमाडौं परिसर र मातहतका वृत्तका झन्डै आधा प्रहरीको समय यस्तै काममा बित्ने गरेको स्वीकारे ।
प्रहरी सबैभन्दा बढी व्यस्त अतिविशिष्ट व्यक्तिको सवारीमा भइरहेको छ । गएको साउनदेखि अहिलेसम्म प्रहरीले प्रधानमन्त्री सुशील कोइरालाको ८६ वटा सवारीमा सुरक्षा प्रदान गरेको छ । प्रधानमन्त्री सहभागी हुने औपचारिक, अनौपचारिक कार्यक्रममा सहभागी हुन जाँदा बाटोदेखि कार्यक्रमस्थलको सुरक्षा प्रहरीले प्रदान गरेको हो । प्रधानमन्त्री निवास बालुवाटार र प्रधानमन्त्रीको सुरक्षाका लागि ८० प्रहरीको दरबन्दी छ ।
गत साउनदेखि हालसम्म प्रहरी राष्ट्रपति रामवरण यादवको ५१ वटा सवारीको सुरक्षामा व्यस्त हुनुपर्‍यो । औपचारिक बाहेकका अन्य कार्यक्रममा प्रहरी यति धेरै समय व्यस्त भएको हो । उपराष्ट्रपति परमानन्द झाको औपचारिक तथा अनौपचारिक गरी १ सय ४३ वटा सवारीमा प्रहरीले सुरक्षा दिएको छ । अतिविशिष्ट व्यक्तिको सवारी हुँदाँ सुरक्षा दिनैपर्छ, महानगरीय प्रहरी आयुक्त कार्यालयका एक वरिष्ठ प्रहरी अधिकृतले भने, तर अधिकांश कार्यक्रम अतिविशिष्ट व्यक्ति जानुपर्ने किसिमका हुँदैनन् । विशिष्ट व्यक्तिहरू आफू सहभागी हुने कार्यक्रमको मूल्यांकन नै नगरी गइदिंदा सुरक्षामा कठिनाइ हुने ती अधिकारीको भनाइ छ ।
अतिविशिष्ट व्यक्तिको औपचारिक सवारीमा प्रहरीलाई सडकमा उभ्याइने गरिएको छ । त्यो सुरक्षाका लागि भन्दा पनि प्रोटोकलका लागि भएको प्रहरीहरू बताउँछन् । यी बाहेकका अन्यमा सडकमा प्रहरी नै उभ्याएर सडक खाली गराउने वा सवारी चलाउने भन्दा चुस्त ट्राफिक व्यवस्थापन गर्नुपर्ने अर्का एक अधिकारी बताउँछन् । सार्क सम्मेलनका दौरान भीभीआईपीको सवारी हुने मुख्य मार्गहरूमा सीसीटीभी जडान गरिएको छ, ती अधिकारीले भने, त्यसलाई निगरानी गरेर व्यवस्थापन नगरी अहिले पनि सडकमा डण्ठा बोकेका प्रहरी उभ्याइने गरिन्छ ।
बन्द, हडताल, नाराजुलुस लगायतमा पनि प्रहरीको उपस्थिति आवश्यक हुने हुँदा अपराध नियन्त्रण र सर्वसाधारणलाई शान्ति सुरक्षा प्रदान गर्न प्रहरीलाई समस्या पर्ने गरेको कान्तिपुर दैनिकमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice