सरकारी कर्मचारीलाई वेश्याकोठीमा धाउने छुट !

के यो मुलुकमा सरकारी कर्मचारीलाई चाहिँ जे गर्न पनि छुट हो ? वेश्याकोठीबाट पक्राउ परे पनि तिनको नैतिकतामा कुनै दाग नलाग्ने हो ? जस्तोसुकै कर्म गरे पनि तिनको नाम थर लुकाएर, कम धरौटी लिएर, छिटो मुद्दा टुंग्याएर छाड्नैपर्ने हो ? त्यस्तै भएको छ अघिल्लो साता बानेश्वरछेउ शान्तिनगरको अवैध कोठीबाट रंगेहात पक्राउ परेका सरकारी कर्मचारीको हकमा । ती व्यक्ति महालेखा परीक्षक कार्यालयको उपसचिव दर्जामा कार्यरत छन् । अनियमितता र बेरुजु छानबिन गर्ने निकाय हो त्यो । त्यसमाथि जनयुद्धकालमा तास खेल्नेलाई पत्ती कोच्याउने, जाँड पार्नेको घ्याम्पा फुटाउने, परस्त्री गमन गर्नेलाई जोडी बाँधिदिने, ढाड भाँच्नेजस्ता सजाय दिने कार्यको अगुवाई गर्ने पार्टीका कार्यकर्ता पनि हुन् उनी । सक्कली नाम हो, ठवराज अधिकारी । तर, यिनलाई गणेश कार्कीको नक्कली नाम भिडाएर सामान्य मुद्दामा पाँच हजार धरौटी लिई उन्मुक्ति दिइयो ।
चैत १४ गते झापाकी पार्वता उप्रेतीले शान्तिनगर गेटछेउ सञ्चालन गरेको वेश्याकोठीबाट देहव्यापारी युवतीसहित पक्राउ परेका थिए, ठवराज । यिनकी पत्नी शान्ति मन्त्रालयमा काम गर्छिन् । जेठानचाहिँ अख्तियारमा हाकिम छन् । आफैं कर्मचारी, त्यसमाथि आफन्तहरु सबै सरकारी मान्छे । त्यो ठाउँमा छ्यास्स पुगेका सञ्जय रोका युवासंघको विभागीय सदस्यमात्र रहेको हुँदा नाम नै सार्वजनिक गरियो किनकि उनी सरकारी कर्मचारी थिएनन् । पेसाले चार्टर्ड एकाउन्टेन्ट । सरकारी कर्मचारीलाई के जोखिम रहेछ भने दुनियाँले थाहा पाए र संगीन अपराधमा संलग्न रहेको खुले पदबाट निलम्बन हुने । उस्तै परे जागिर नै जाने । त्यसैले यिनी पाँच हजार धरौटी राखेर एक सातापछि गत शुक्रबार थुनामुक्त भए । अनि आइतबार केही नभएझैं गरी पूर्ववत कार्यालय पुगे र हाजिर भए । यिनीसँगै पक्राउ पर्दाको फाइदा ती देहव्यापारी ६ जना युवतीले पनि उठाए । यहाँनेर चाहिँ कानुनले भेदभाव गरेन । सबैलाई बराबर कारबाही भयो । सबै एकैदिन रिहा भए, उत्तिकै धरौटी तिरे तर भिन्नता के मात्र भयो भने पेशाकर्मी महिला र सञ्जयको सक्कली नाम सार्वजनिक भयो । सरकारी अभिलेखमा ठवराज कोठी धाउने काल्पनिक अज्ञात व्यक्ति गणेश कार्कीको रुपमा दर्ज भए ।

One thought on “सरकारी कर्मचारीलाई वेश्याकोठीमा धाउने छुट !
  1. Your style is so unique compared to other folks I have read stuff from. Thanks for posting when you’ve got the opportunity, Guess I’ll just bookmark this web site.|

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice