गणेशमानलाई अझै चिनाउन ‘बलिदान अभियान’

काठमाडौंं । कांग्रेसका सर्वमान्य नेता स्वर्गीय गणेशमान सिंहको जन्मशताब्दीका अवसरमा  ‘गणेशमान बलिदान अभियान’ आयोजना हुने भएको छ ।
कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गर्न लागेको अभियान फागुन ७ मा सुरु भई चैत २६ गते टुंगिनेछ । २०४६ सालको राजनीतिक परिवर्तनका सर्वोच्च कमान्डर सिंहले नेपाली राजनीतिमा देखाएको त्याग, साहस र निर्भीकतालाई अझ जनतासामु भिज्ने गरी स्थापित गराउन अभियान सञ्चालन गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
सिंह जहानियाँ राणा शासनविरुद्ध लाग्दा भद्रगोल जेल परेका थिए । जेलको कडा निगरानी र सुरक्षा घेरा तोड्दै भारत प्रस्थान गर्ने क्रममा उनी हिँडेका जिल्लालाई पछ्याउँदै अभियान सञ्चालन गर्न लागिएको प्रतिष्ठानका प्रमुख एवम् उपसभापति रामचन्द्र पौडेलले  जानकारी दिए । ‘ऐतिहासिक जनआन्दोलन २०४६ का सर्वोच्च कमान्डर सिंहले देख्नुभएको आर्थिक क्रान्तिको सपनालाई साकार पार्न अभियानले बल पुग्नेछ,’ पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
अभियान पहिलो चरणमा फागुन ७ गते शान्तिवाटिकाबाट सुरु भई  फागुन २३ गते भैरहवामा समापन हुने जानकारी दिइयो । त्यसपछि दोस्रो चरणको कार्यक्रम तय हुने प्रतिष्ठानले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice