दूतावासको निर्णयमा एसएसबीको अवरोध

वीरगन्ज । नेपाली कृषकले भारतमा बेच्न लगेको उखु भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमामा रोकेपछि उत्पन्न समस्या अझै समाधान हुन सकेको छैन ।
वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले भारतीय चिनी मिलमा उखु बेच्न इजाजत दिए पनि नेपाली कृषकले उत्पादन गरेको उखु सीमा सुरक्षा बलले रोकिदिएको हो । एसएसबीले रोकिदिएका कारण पर्साको इनर्वा, भिस्वा नाकामा उखु चार दिनदेखि थन्किएको उखु किसान संघर्ष समिति पर्साका अध्यक्ष सहरुम राउत गद्दीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।
जानकीटोला, सुपौली, खलेचरी, विजवनिया, पिँडारीलगायत क्षेत्रका किसानले भारतीय मिलमा बेच्न लगेको उखु एसएसबीले रोकिदिएको उनले बताए । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले भने किसानको समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ । दूतावासका कन्सुलर कृष्ण चैतन्यले उखु किसानको समस्या समाधानका लागि दूतावासले दिल्लीसम्म पहल गरिरहेको जानकारी दिए ।
उनले केन्द्रबाट एसएसबीलाई पनि जानकारी गराइएको बताए । बाराको रिलायन्स चिनी मिलले उखु नलिएर समस्यामा परेपछि पर्साका किसान र प्रशासनको पहलमा भारतीय दूतावासले भारतमा उखु बेच्ने इजाजत दिएको थियो । तर भारतीय सीमा सुरक्षा बलले दूतावासको इजाजतविपरीत काम गरेर नेपाली किसानलाई दुःख दिइरहेको छ । उखु चिनी मिलसम्म नपुगी सीमामा नै थन्किएकाले सुकेर तौल घट्ने भन्दै पर्साका उखु किसान चिन्तामा परेका हुन् ।
सम्बन्धित निकायबाट जानकारी नआएको भन्दै एसएसबीले सीमामा उखु रोकिदिएपछि किसान चिन्तित भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice