सत्यनिरुपण र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्षसहितका पदाधिकारी नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले मंगलबार आयोग गठनका लागि गठित छनोट समितिले सिफारिस गरेका व्यक्तिलाई दुई वर्षका लागि नियुक्त गरेको हो । सरकारले सत्यनिरुपण आयोगको अध्यक्षमा पूर्वराजदूत सूर्यकिरण गुरुङ, सदस्यमा लीला उदासी, कृष्ण सुवेदी, डा माधवी भट्ट र मञ्चला झालाई नियुक्त गरेको कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले बताए । त्यस्तै, बैठकले बेपत्ता छानबिन आयोगको अध्यक्षमा पूर्वमुख्य न्यायाधीश लोकेन्द्र मल्लिक, सदस्यमा बिजुल विश्वकर्मा, प्राडा विष्णु पाठक, नरकुमारी गुरुङ र आइबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन, २०७१ को दफा ३ बमोजिम मानवाधिकारको गम्भीर उल्लंघनसम्बन्धी घटना र त्यस्तो घटनामा संलग्न व्यक्तिबारे सत्य अन्वेषण र छानबिन गरी यथार्थ विवरण जनसमक्ष ल्याउन आयोग गठन गर्ने कानुनी प्रावधानअनुसार सो नियुक्ति दिइएको हो । ऐनअनुसार आयोगले पीडक र पीडितबीच मेलमिलाप गराउन, पीडितलाई परिपूरणको व्यवस्था गर्न र त्यस्तो घटनासँग संलग्न व्यक्तिलाई कानुनी कारबाहीका लागि सिफारिस गर्ने व्यवस्था छ ।
दुवै आयोगमा पदाधिकारी दुई वर्षका लागि नियुक्त गरिएको भए पनि आयोगले आफ्नो काम नसकिएको अवस्थामा बढीमा एक वर्षसम्म समयावधि थप्न सक्ने ऐनमा व्यवस्था रहेको कानुनमन्त्री आचार्यले जानकारी दिए । शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउने दुई महत्वपूर्ण आयोग गठनका लागि सरकारले गत असार २ गते गठन गरेको सो समितिले ८ महिनासम्म विभिन्न प्रक्रिया र विधिमार्फत नाम सङ्कलन गरी सोमबार मात्र सरकारलाई नाम सिफारिस गरेको थियो ।
पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको अध्यक्षतामा गठित सो सिफारिस समितिको सदस्यमा सुदीप पाठक, प्राडा घनश्यामलाल दास, प्रदीप पोखरेल र शान्तिदेवी खनाल थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice