प्रधानमन्त्रीलाई विपक्षीको जवाफ : सार्थक वार्ताको वातावरण बन्न सकेको छैन, आन्दोलन जारी छ

काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले प्रधानमन्त्री सुशील कोइरालाले सार्थक वार्ताका लागि आह्वान गरेकोमा त्यसलाई अस्वीकार गरिदिएको छ ।
मोर्चाको सोमबार बसेको बैठकले सार्थक वार्ताको वातावरण बन्न नसकेको निष्कर्ष निकाल्दै घोषित आन्दोलन जारी रहने जनाएको हो । ‘सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाले वार्ताको आह्वान गर्दै दिएको वक्तव्यप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ मोर्चाको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको आसय बहुमतीय प्रक्रियालाई रोक्ने र १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता एवं अन्तरिम संविधानको मर्म र भावनाअनुसार जनआन्दोलन तथा शान्ति प्रक्रियाका सहयात्रीहरू, ऐतिहासिक सम्झौताका पक्ष शक्तिहरूसँग सहमतिका आधारमा संविधान निर्माण गर्ने भने यसलाई हामी सकारात्मक मान्छौं । तर, प्रधानमन्त्रीको वक्तव्यमा यी कुरा स्पष्ट छैनन् र त्यसअनुरुपको प्रतिबद्धता पनि देखिएको छैन ।’
मोर्चाले प्रधानमन्त्रीको वक्तव्यले परिवर्तनका उपलब्धिहरू संस्थागत गर्ने गरी सहमतिका आधारमा संविधान निर्माण गर्न आवश्यक सार्थक वार्ताका लागि विश्वसनीय वातावरण बनाउन नसके पनि प्रधानमन्त्रीको पहललाई सकारात्मक रूपमा लिएको जनाएको छ । ‘हामी सहमतिका आधारमा संविधान निर्माण गर्नुपर्दछ भन्ने शक्तिहरू सधैं सार्थक वार्ताको पक्षमा छौं,’ मोर्चाले भनेको छ, ‘यस स्थितिमा सहमतिका आधारमा संविधान निर्माण गर्ने वार्ताको विश्वसनीय एवं सुनिश्चित वातावरण नबन्दासम्म घोषित आन्दोलन जारी नै रहने कुरा स्पष्ट पार्न चाहन्छौं ।’
कांग्रेस र एमालेलगायतका सत्तारुढहरूले संविधान निर्माण प्रक्रियालाई बहुमतीय प्रक्रियामा धकेल्ने कार्य गरेपछि संविधानसभाबाट संविधान निर्माण प्रक्रियालाई सहमतिका आधारमा सही दिशामा लैजान आन्दोलनमा जानुपरेको मोर्चाको जिकिर छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice