बैद्यले दाहाललाई भने : संविधानसभा भङग गर्ने हाम्रो नारा भित्र किन लागेन ?

काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सोधे,‘आन्दोलनमा हाम्रा माग किन सम्बोधन भएनन् ? संविधानसभाभित्रको आन्दोलनमा हाम्रा नारा किन लागेनन् ?’
उनले आफ्ना नाराबारे प्रस्ट पार्दै भने, ‘यदि संयुक्त आन्दोलन गर्ने हो भने संविधानसभा भंग हुनुपर्छ भन्ने हाम्रो नारा त्यहाँभित्रको आन्दोलनमा लाग्नुपर्छ।’
दाहालले जबाफ दिँदै भने, ‘हतार नगरौं, माघ ८ सकौं अनि छलफल गरौंला।’
संविधानसभाभित्र तोडफोड र नाराबाजी गर्दै संविधान निर्माण प्रक्रिया अवरुद्ध गरेको तथा सडकमा कार्यकर्ता उतारेर दबाब दिएको विषयमा मूल्यांकन गर्ने क्रममा वैद्यले यसरी दाहालसँग असन्तुष्टि पोखेका थिए।
संविधानसभाभित्र र बाहिर आन्दोलनका लागि थप रणनीति बनाउन बुधबार बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा एमाओवादीसहित ३० दलीय मोर्चाको बैठकमा वैद्यले सहकार्य गर्ने तर आफ्ना मागबारे कुरै नउठाएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले मूल र सहायक नारा बनाएर आन्दोलनमा आफूहरूप्रति विभेद गरिएको गुनासो पनि गरे। ‘नारा एउटै हुनुपर्यो । यो सभाबाट संविधान बन्दैन भन्ने कुरा सभाभित्रको आन्दोलनमा पनि उठ्नुपर्‍यो’, वैद्यले भनेका थिए।
अन्नपूर्णपोष्ट लेख्छ, बैठकमा सहभागी मधेसी जनअधिकार फोरमका उपाध्यक्ष रामेश्वरराय यादवले भने, ‘वैद्यजीले संविधानसभा भंग गर्ने नारा त्यहाँभित्र पनि लाग्नुपर्नेमा जोड दिनुभएको थियो तर यसबारे भोलिपछिमात्र छलफल गर्ने तय भएको छ।’ उनले आफूहरू संविधानसभाबाट सहमतिमै संविधान बन्नुपर्ने पक्षमा रहेको बताए।
बैठकमा दाहालले वैद्यलाई थुमथुम्याउने प्रयास गरेका थिए। उनले संविधानसभाभित्र र बाहिर त्यसबाटै संविधान नबनोस् भन्ने विचार बोकेका साथीहरू भएकाले सबै समायोजन गरेर आन्दोलन गर्नुपरेको धारणा राखेका थिए।
उनले माघ ८ का दिन सत्तापक्ष मार्सल लाएर भए पनि प्रक्रिया अघि बढाउने तयारीमा लाग्न सक्ने सूचना आएको जानकारी दिँदै भित्र र बाहिर सशक्त रूपमा प्रतिकार गर्ने गरी प्रस्तुत हुनुपर्ने बताएका थिए।
बैठकमा केही दलले माघ ८ मा सुरक्षाघेरा तोडेर संविधानसभा घेर्ने कार्यक्रम ल्याउन दबाब दिएका थिए। तर दाहालले तत्काल त्यस्तो योजना बनाए कार्यान्वयन गर्न समस्या पर्ने भन्दै पन्छाएका थिए।
आन्दोलन परिचालन समितिका संयोजक एमाओवादी महासचिव कृष्णबहादुर महराले ८ गते दिनभर निषेधित क्षेत्रबाहिर प्रदर्शन गर्ने र सबै दलको सहभागिता हुनुपर्ने प्रस्ताव बैठकले पारित गरेको जानकारी दिए।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice