कालोसूचीबाट हटेकालाई ऋण देऊ : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कालोसूचीबाट हटेकालाई ऋण लगानी बन्द नगर्न निर्देशन दिएको छ । ऋण नतिर्दा कालोसूचीमा परेका र पछि ऋण तिरी सूचीबाट हटिसकेका कतिपयले बैंक तथा वित्तीय संस्थाले ऋण नदिएको गुनासो गर्दै आएका थिए ।
राष्ट्र बैंकले विगतमा ऋण भुक्तानी गर्न नसकेर कालोसूचीमा परेकाहरूले ऋण भुक्तानीपछि कानुनी रूपमै ऋण पाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘बैंक वा वित्तीय संस्थाले ऋण नतिर्ने ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरेकोमा ऋणीले कर्जा भुक्तानी गरी कालोसूचीबाट हटाइसकेपछि विगतको कालोसूचीसम्बन्धी अभिलेखमा नाम रहेकै कारणले नयाँ कर्जा प्रवाहमा बन्देज लगाउन पाइनेछैन ।’
राष्ट्र बैंकले ऋण तिरे पनि कालोसूचीसम्बन्धी अभिलेखमा नाम रहेकै कारण नयाँ कर्जा प्रवाहमा बन्देज लगाउने व्यवस्था कर्जा नीतिमा भए त्यसलाई संशोधन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा चार हजार एक जना छन् । २१ फागुन ०४६ देखि ऋण नतिर्नेहरु कालोसूचीमा रहेको जनाइएको छ ।
पहिले २५ लाखभन्दा बढी ऋण भएकाहरूलाई मात्र कालोसूचीमा राख्ने व्यवस्था थियो भने पछि संशोधन गरेर १० लाख रुपैयाँमा झारिएको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice