माथिल्लो सेती अघि बढाउन ऊर्जामन्त्रीलाई ओलीको निर्देशन

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले ऊर्जामन्त्री राधा ज्ञवालीलाई एक सय ४० मेगावाटको माथिल्लो सेती जलविद्युत् आयोजनाको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।
ओलीले एसियाली विकास बैंक (एडीबी) ले छनोट गरेकै जर्मन परामर्शदाता कम्पनी ल्यामेयरलाई नियुक्त गरी काम अघि बढाउन निर्देशन दिएका हुन् ।
हिजो सोमबार प्रधानमन्त्री सुशील कोइरालाले पुरानै प्रक्रियाबाट छनोट भएको परामर्शदातालाई नियुक्त गरी आयोजना तत्काल अघि बढाउन निर्देशन दिएका थिए ।  ज्ञवालीले यस सम्बन्धमा आफ्नो पार्टी अध्यक्ष ओलीसित सल्लाह गर्नुपर्ने बताएकी थिइन् ।
ऊर्जामन्त्री ज्ञवालीले एडीबीको परामर्शदाता छनोट प्रक्रिया त्रुटिपूर्ण भन्दै रद्द गरी नयाँ प्रक्रिया सुरु गर्ने निर्णय गरेकी थिइन् । दाता एडीबी र जाइकाले भने पुरानो प्रक्रियालाई सदर नगरिए सहयोग नगर्ने बताएका थिए । त्यसपछि आयोजना अन्योलमा परेको थियो ।
यस आयोजनामा जाइकाले एक सय ८० मिलियन तथा एडीबीले एक सय ५० अमेरिकी डलर सहयोग दिने सम्झौता गरिसकेका छन् । सेतीलाई मुलुकको लोडसोडिङ घटाउन एक मात्र विकल्पका रुपमा लिइएको छ । यस जलाशययुक्त आयोजना सफल भएमा हिउँदमा समेत दिनको ६ घन्टा एक सय ४० मेगावाट नै विद्युत् उत्पादन हुन सक्ने बताइएको छ ।
ऊर्जामन्त्रीले आफ्नो निर्णय उल्ट्याएमा आयोजना अघि बढ्नेछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice