जेलबाट बिदा लिएर सञ्जय दत्तले पीके हेरे

एजेन्सी । जेलबाट १४ दिनका लागि छुट्टी पाएका सञ्जय दत्तले परिवारका साथ फिल्म पीके हेरेका छन् । फिल्म पीकेमा उनले भैरोसिंहको भूमिका निभाएका छन् । उनले फिल्म पीके राम्रो बनेको चर्चा जेलमै सुनेको बताए । ‘फिल्मको धेरै प्रशंसा भइरहेको छ । फिल्म राम्रो बनेको चर्चा मैले जेलमै सुनेको थिएँ,’ सञ्जयले भनेँ, ‘केही सिपाहीले फिल्म हेरेर मलाई बताएका थिए ।’
उनले निर्देशक राजु हिरानी र निर्माता विधुविनोद चोपडासँग आफ्नो खास मित्रता भएको पनि बताएका छन् । ‘राजु हिरानी र विधुविनोद चोपडाले कुनै फिल्म बनाउँछन् भने म त्यसमा सानो भूमिका निभाउन पनि तयार छु,’ फिल्म पीके हेरेपछि उनले भने ।
सञ्जयले पीकेको प्रिमियर सो हेर्न पाएका थिएनन् । त्यसैले पीकेको टिमले उनलाई सबै कलाकारका साथमा पीके हेर्ने व्यवस्था मिलाएको थियो ।
१९ डिसेम्बरदेखि प्रदर्शनमा आएको पीकेले हरदिन नयाँ रकर्ड कायम गरिरहेको छ । आमिर खानको बेजोड भूमिका रहेको पीकेमा अनुष्का शर्मा, सुशान्तसिंह राजपुतलगायतको अभिनय रहेको छ । पीकेले धार्मिक भ्रमबारे चिरफार गरेको छ ।
स्मरण रहोस्, घरमा गैरकानुनी हतियार राखेको अभियोगमा सञ्जयले पाँच वर्षको जेल सजाय भोगिरहेका छन् । उनले फिल्म पीकेको प्रमोसनका लागि जेल प्रशासनसँग बिदा मागेका थिए । यसअघि उनले श्रीमती मान्यता बिरामी पर्दा पनि बिदा पाएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice